गुल्मी । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् । गुल्मी जिल्लामा पनि विभिन्न संघ संस्थाले तीज बिशेष कार्यक्रमहरुसँगै सामुहिक रुपमा दरदाने कार्यक्रहरु आयोजना गर्ने गरेका छन् ।
अखिल नेपाल महिला संघ रेसुङ्गा नगर कमिटी गुल्मीको आयोजनामा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता तम्घासमा सम्पन्न भएको छ । नेकपा एमाले निकट अखिल अनेम संघ आयोजनामा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता १४ वटा समुहको सहभागिता रहेको अखिल नेपाल महिला संघ रेसुङ्गा नगर कमिटी अध्यक्ष रिता बराल पाण्डेले बताइन् । तीज बिशेष कार्यक्रममा विभिन्न प्रतियोगि समुहले मौलिक गीत नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितमा प्रथम चेतनशील आमा समुह वडा नम्बर–१ र २, द्धितिय जनचेतना आमा समुह वडा नम्बर १२, तृतिय रेसुङ्गा आमा समुह रेसुङ्गा वडा नम्बर– ९ भएका थिए ।
प्रतियोगितमा राधाकृष्ण आमा समुह वडानम्बर–४ र मिलनचोक दिदीबहिनी समुह वडा नम्बर– १ सान्त्वना भएका थिए ।
प्रतियोगितमा प्रथम हुने समुहलाई १० हजार र प्रमाणपत्र, द्धितिय हुनेलाई ५ हजार प्रमाणपत्र, तृतिय हुनेलाई ५ हजार र प्रमाणपत्र, सान्त्वना हुनेलाई दुई समुहलाई ३ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । अन्य प्रतियोगी समुहलाई २ हजारका दरले पुरस्कृत गरिएको अध्यक्ष पाण्डेले बताइन् । पछिल्लो समय तीज पर्वको अवसरमा बिकृति मूलक गीतहरु आइरहेको बेला गुल्मी जिल्लामा भने मौलिक गीत गाएर नाच्ने गरेका छन् । कला संस्कृतिको संरक्षण र पुरानै प्रचलनका गीत गाउने र नाच्ने प्रचलनलाई बचाइ राख्नका लागि प्रतियोगिता राखिएको अध्यक्ष बरालले बताइन् ।
तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले घरमा आफुले भोगेका सुखःदुखका बेदनाहरु गीतका माध्यमबाट पोख्ने गर्दछन् । गुल्मी लगायत पश्चिम तिर यस्ता भाकाहरु वढि प्रचलनमा रहेका छन् । प्रतियोगितामा महिलाहरुले नारि बेदना भन्दा पनि देश भक्ति प्रेमका गीतहरु प्रस्तुत गरेका थिए ।