स्वास्थ्य संस्था सञ्चालक संघको वार्षिक उत्सव तथा स्थापना दिवसमा बालबालिकालाई भोजन



टाेपलाल अर्याल


गुल्मी । स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले आफ्नो वार्षिक उत्सव तथा स्थापना दिवस सामाजिक सेवामार्फत मनाएको छ। संघले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा रहेको सृजनशील बाल सेवा परिवारमा पुगेर त्यहाँ आश्रित बालबालिकालाई भोजन खुवाउँदै स्थापना दिवस मनाएको हो।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले बालबालिकासँग समय बिताउँदै उनीहरूलाई भोजन गराएका थिए। संस्थाले आफ्नो स्थापना दिवसलाई औपचारिक कार्यक्रम र शुभकामना आदानप्रदानमा मात्र सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको जनाएको छ।

कार्यक्रममा नेपाल मेडिकल व्यवसायी संघका निवर्तमान अध्यक्ष सीताराम रेग्मीले स्वास्थ्य संस्था सञ्चालक संघले स्थापनाको छोटो समयमै सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले संघले गरेको सकारात्मक कामले राज्यका विभिन्न निकायको समेत ध्यानाकर्षण गराएको उल्लेख गर्दै आगामी दिनमा सामाजिक सेवाका कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

त्यस्तै, सोही कार्यकालका महासचिव नवराज पौडेलले स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यवसायीहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। व्यवसायीबीच सहकार्य र एकताले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधान गर्न थप सहज हुने उहाँको भनाइ थियो।
कार्यक्रम स्वास्थ्य संस्था सञ्चालक संघ नेपालका अध्यक्ष मदनकुमार पूर्वेको अध्यक्षतामा सम्पन्न भएको थियो। संघका रघुनाथ पनेरु (कालिका)ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सोमराज लिम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो।

( Jeevan rajan

कार्यक्रममा सृजनशील बाल सेवा परिवारकी अध्यक्ष उमादेवी कार्की बस्नेतले आफ्नो संस्थालाई छनोट गरी बालबालिकाप्रति स्नेह र सहयोग प्रकट गरेकोमा स्वास्थ्य संस्था सञ्चालक संघप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बालबालिकाका लागि संघले गरेको सहयोगले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै आगामी दिनमा पनि संस्थालाई सम्झिन आग्रह गर्नुभयो।

स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले स्थापना दिवसका अवसरमा गरिएको यस प्रकारको सामाजिक गतिविधिले बालबालिकाप्रति सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया