गुल्मी । गुल्मी, मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा वर्षात सुरु भएसँगै यात्रा कष्टकर र जोखिमपूर्ण बन्दै गएको छ । करोडौं रुपैयाँको लागतमा कालोपत्रे गरिएको सडकमा सहायक सडक विस्तारका क्रममा गरिएको लापरवाहीका कारण हिलो, माटोको थुप्रो जम्दा सवारी आवागमन प्रभावित भएको हो ।
इस्मा गाउँपालिका–२ को छल्दीटारा क्षेत्रमा सहायक सडक विस्तार गर्दा उचित व्यवस्थापन नगरिएकाले वर्षाको भेलले बगाएर ल्याएको माटो मुख्य सडकमा थुप्रिने गरेको स्थानीयको गुनासो छ । जसका कारण कालोपत्रे सडक नै कच्ची सडकजस्तो देखिन थालेको छ । सडकमा साना तथा ठूला सवारी साधन जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । स्थानीय राजन कुँवरका अनुसार पानी परेसँगै सडक हिलाम्मे बन्ने र सवारी साधन सञ्चालनमा समस्या हुने गरेको बताए ।
अघिल्लो वर्ष पनि यही समस्या थियो, तर समाधानका लागि कुनै प्रभावकारी पहल नभएको उनले बताए । यस वर्ष पनि वर्षात सुरु हुनासाथ अवस्था उस्तै समस्या हुँदै आएको बताए । कुँवरसँगै प्रेम मुखियाको घर पनि यस्तै माटाको थुप्रो सडकमा आएकाले घर जोखिममा परेको छ । यस्ते समस्या भएको तीनवर्ष हुँदा समेत समयमै मर्मत हुन सकेको छैन् ।
समयमै माटो व्यवस्थापन नहुँदा घरहरु समेत जोखिममा परेका छन् । छल्दीटारा क्षेत्रमा मात्रै होइन, छल्दीदेखि सिमलटारीसम्मका विभिन्न स्थानमा सहायक सडक विस्तारका क्रममा फालिएको माटो तथा ढुंगाले सडक थप जोखिमपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।
साना खहरे खोलामा थुप्रिएको माटो वर्षाको भेलसँगै मुख्य सडकमा आइपुग्दा दुर्घटनाको जोखिमसमेत बढेको छ । स्थानीय जनप्रतिनिधिहरूले सडकमा थुप्रिएको माटो हटाउन तथा समस्या समाधानका लागि सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन् ।
समयमै मर्मत तथा व्यवस्थापन नहुँदा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको कालोपत्रे सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको उनीहरूको भनाइ छ ।
करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको यो सडक गुल्मी क्षेत्र नम्बर–२ का अधिकांश बस्तीका साथै छिमेकी बागलुङ र प्युठान जिल्लासँगको महत्वपूर्ण यातायात सम्पर्क मार्ग हो । तर सडकका विभिन्न खण्डमा देखिएको जोखिमले यात्रु र सवारी चालकहरू चिन्तित बनेका छन् ।
वर्षातको सुरुवातसँगै जिल्लाका ग्रामीण सडकहरू पनि क्रमशः जीर्ण बन्दै गएका छन् । कतिपय स्थानमा स्थानीयवासी तथा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । स्थानीयले सम्बन्धित निकायलाई तत्काल सडकको मर्मत, सरसफाइ तथा दीर्घकालीन समाधानका उपाय अपनाउन माग गरेका छन् ।









