रेसुंगाका स्वास्थ्यकर्मीलाई मोबाइलबाट आँखा परीक्षण गर्ने तालिम प्रदान



Live Gulmi


गुल्मी । रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि मोबाइलको सहायताले आँखा परीक्षण गर्ने सम्बन्धी दुई दिने विशेष तालिम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको आयोजना तथा रेसुङ्गा नगरपालिकाको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो।

‘पीक भिजन मोडल’ (PEEK Vision Model) अन्तर्गतको हेल्थपोष्ट मोडलमा आधारित सो कार्यक्रमलाई नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालय र पीक फाउण्डेशन (PEEK Foundation) ले आर्थिक सहयोग गरेका छन्। तालिमको अवसरमा रेसुङ्गा नगरपालिका अन्तर्गत सञ्चालित १६ वटा स्वास्थ्य संस्थाहरूलाई आँखा जाँचका लागि आवश्यक पर्ने एक-एक थान मोबाइल सेट समेत प्रदान गरिएको छ। यस प्रविधिमार्फत अब स्थानीय स्तरमै नागरिकहरूको आँखा परीक्षण गर्न सहज हुनेछ।

गत जेठ १९ गते रेसुङ्गा नगरपालिकाको सभाहलमा तालिमको उद्घाटन गरिएको थियो। रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका कार्यवाहक अध्यक्ष श्याम कुमार पोखरेल प्रमुख अतिथि रहनुभएको थियो।
​कार्यक्रममा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका उपसभापति शेरबहादुर थापाको विशेष आतिथ्यता रहेको थाल्यो भने नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेय, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संयोजक, शिक्षा शाखा प्रमुख तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदमप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक रञ्जन शाह, आइटी कन्सल्टेन्ट शैलेन्द्र मानसिंह, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेत र सूचना अधिकारी बिरबहादुर कार्कीले प्रशिक्षण दिनुभएको थियो।

( Jeevan rajan

दुई दिनसम्म चलेको उक्त तालिमको समापन समारोह नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भयो। समापन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगर उपप्रमुख अमृतादेवी कुँवर प्रमुख अतिथि, नेपाल नेत्रज्योति संघका कार्यवाहक अध्यक्ष श्याम कुमार पोखरेल विशेष अतिथि तथा रेसुङ्गा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पन्थी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

मोबाइल प्रविधिको प्रयोग गरी सुरु गरिएको यो नयाँ अभियानले रेसुङ्गा नगरपालिकाका सम्पूर्ण नागरिकहरूमा आँखा उपचारको पहुँच सहज र सुलभ रूपमा पुग्ने विश्वास लिइएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया