गुल्मी । गुल्मीमा मुस्लिम समुदायलाई लक्षित गर्दै नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ । मदरसा अहले सुन्नत प्राथमिक विद्यालयको आयोजना तथा गुल्मी माेडेल हस्पिटलकाे प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो ।
तम्घासस्थित मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा गरिएको स्वास्थ्य शिविरमा १८ जनाले सेवा लिएको विद्यालयका अध्यक्ष जबुल मियाँले बताए । उनलेे आफ्नो समुदायका लागि लक्षित गर्दै यसरी नि:शुल्क स्वास्थ्य शिविर राखिएको बताएका थिए ।
स्थानीय बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा जनरल चेकअप, ब्लड सुगर परीक्षण तथा विशेषज्ञ डाक्टरहरूको परामर्श र नि:शुल्क औषधि वितरण जस्ता आधारभूत सेवाहरू उपलब्ध गराइएको छ ।
प्राविधिक सहयोग गुल्मी माेडेल हस्पिटलका संचालक रमेश अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत अहले सुन्नत प्राथमिक विद्यालयसँग सहजीकरण गरेर स्वास्थ्य शिविर गरिएको बताएका थिए । उनले हस्पिटलबाट बिशेषज्ञ सेवा पनि उपलब्ध गराइरहेको बताएका थिए ।
स्वास्थ्य शिविर औपचारिक शुभारम्भ गर्दै रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रकाे सहयोगमा यसरी स्वास्थ्य शिविर संचालनमा खुसी व्यक्त गरे । निजी क्षेत्रको सहकार्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी मुस्लिम समुदाय लक्षित स्वास्थ्य गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।









