गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘चौथो अध्यक्ष कप’ खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। यही बैशाख ९ गतेदेखि ११ गतेसम्म गाउँपालिकाको खेलमैदान कुडापानीमा अन्तर स्थानीय तह स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत भिमार्जुन भुसालले जानकारी दिए।
गाउँपालिकाका सूचना अधिकारी सुशील पोख्रेलका अनुसार पुरुष भलिबलतर्फ सम्बन्धित पालिका बाहिरका २ जना खेलाडी समावेश गर्न पाइने प्रावधान छ। महिला भलिबल भने वडा स्तरीय हुने भएकाले बाहिरी खेलाडी राख्न पाइने छैन।
पुरस्कार राशी:
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुने टिमले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, द्वितीय र तृतीय हुनेले क्रमशः ५५,५५५ र २५,५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
महिला भलिबलतर्फ प्रथम हुनेले ३३,३३३ रुपैयाँ, द्वितीयले २२,२२२ र तृतीय हुनेले ११,१११ रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ।
सहभागिता विवरण:
पुरुष खेलाडी समूहले टिम दर्ताका लागि ३,००० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। एक समूहमा ९ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक गरी कुल ११ जना सहभागी हुन पाउने पोख्रेलले जानकारी दिए। यो प्रतियोगिता मदाने गाउँपालिकाले प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको छ।









