गुल्मी । सिद्धबाबा माध्यमिक विद्यालय खानीगाउँमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क रक्त समूह पहिचान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ९० जना विद्यार्थीहरूको रक्त समूह परीक्षण गरिएको थियो।
कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखा र सिद्धबाबा मावि बिचको सहकार्यमा सम्पन्न भएको हो। रक्त परीक्षण कार्य संस्थापक सदस्य राजु मरासिनी तथा नेशनल प्याथ ल्याब सेन्टरका टेक्निसियन मनोहर कुर्मीले गर्नुभएको थियो।
कार्यक्रम सफल बनाउन शुभलक्ष्मी फर्मा, राना डेन्टल, नेशनल प्याथ ल्याब सेन्टर र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्य रहेको थियो भने आर्थिक सहयोग रेसुङ्गा नगरपालिकाले गरेको थियो।
विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना बढाउनुका साथै रक्त समूहको जानकारी भविष्यमा अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले विद्यालयले सधैँ सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निराजन थापाले रक्त समूह पहिचान कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई सचेत बनाउने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर घर्तीले “रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्छ, त्यसैले हरेक व्यक्तिले आफ्नो रक्त समूह थाहा पाउनु अनिवार्य छ” भन्दै यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो।
नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ध्रुव पाण्डेले विद्यार्थी अवस्थादेखि नै रक्त समूहको पहिचान गराउनु दीर्घकालीन रूपमा रक्त अभाव न्यूनीकरणका लागि महत्त्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले “रक्तदानले स्वास्थ्यमा कुनै नकारात्मक असर पार्दैन, बरु मानव जीवन बचाउने पुण्य कार्य हो” भन्दै भविष्यमा पनि जिल्लाभर यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
शुभलक्ष्मी फर्माका तर्फबाट बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी राना डेन्टलका सञ्चालक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका संस्थापक सदस्य दीपक रानाले रगतको महत्त्वबारे प्रकाश पार्दै “रगत कृत्रिम रूपमा उत्पादन गर्न सकिँदैन, त्यसैले स्वेच्छिक रक्तदान नै एकमात्र विकल्प हो” भन्नुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै समुदायमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।









