गुल्मी । आजदेखि काठमाडौँमा नेपाल भलिबल संघको आयोजनामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ। आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ समूह तथा महिलातर्फ ८ समूह सहभागी भएका छन्।
अघिल्लो वर्ष उत्कृष्ट खेल प्रदर्शन गर्दै आठौँ एनभिए कपको उपाधि टिपटक हेल्प नेपाल भलिबल क्लबले जितेको थियो। उक्त क्लब यस वर्ष पनि नवौँ एनभिए कपमा सहभागी भएको छ। हेल्प नेपाल भलिबल क्लबले यस वर्ष गुल्मेली खेलाडी तथा लुम्बिनी प्रदेशका कप्तान चिरञ्जीवी खड्का (चिरन खड्का) को कप्तानीमा प्रतियोगिता खेल्दैछ।
हेल्प नेपाल भलिबल क्लबको कप्तानको जिम्मेवारी पाएपछि गुल्मेली कप्तान चिरञ्जीवी खड्काले आफूलाई गर्व र जिम्मेवारी दुवै महसुस भएको बताएका छन्। उनले भने, “हेल्प नेपाल जस्तो प्रतिष्ठित क्लबको कप्तानी गर्ने अवसर पाउनु मेरो लागि ठूलो सम्मान हो। यो जिम्मेवारीलाई मैले चुनौतीका रूपमा लिएको छु। टिमका सबै खेलाडीलाई एकजुट बनाएर उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ।”
खड्काले नवौँ एनभिए भलिबल लिग च्याम्पियनसिपलाई आफ्नो करियरकै महत्वपूर्ण प्रतियोगितामध्ये एकको रूपमा उल्लेख गर्दै टिमको तयारी राम्रो अवस्थामा रहेको जानकारी दिए।
उनले भने, “हाम्रो टोलीमा युवा जोश र अनुभवी खेलाडीको राम्रो संयोजन छ। यदि हामी अनुशासन र टिमवर्कमा अडिग रह्यौं भने राम्रो नतिजा निकाल्न सक्छौँ।”
गुल्मेली कप्तान खड्काले समर्थकहरूप्रति आभार व्यक्त गर्दै प्रतियोगिताभर हेल्प नेपाल भलिबल क्लबलाई साथ र हौसला दिन आग्रह समेत गरेका छन्।









