रेसुङ्गा नगरपालिकामा ‘नागरिक मेयर’ र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



सन्तोष महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकाकाे वडा नम्बर ५ मा शुक्रबार नगरपालिकाले सार्वजनिक सुनुवाइ तथा ‘नागरिकसँग मेयर’ कार्यक्रम सम्पन्न गरेको हो ।रेसुङ्गा नगरपालिकाकाे वडा नम्बर ५ का वडाध्यक्ष दुर्गाप्रसाद खनालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिका प्रमुख खिलध्वज पन्थीकाे प्रमुख आतिथ्यता, उपप्रमुख अमृतादेवी कुँवरकाे स्वागत मन्तव्य, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीकाे नगरपालिकाबाट सम्पादित कार्यकाे प्रस्तुति, सहभागी स्थानीयकाे गुनासो, सुझाव, सल्लाह र जिज्ञासा, नगरपालिका प्रमुखकाे जवाफ र ५ नम्बरका वडाध्यक्षकाे समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा सहभागी स्थानीयले कृषि उपजकाे बजारीकरण, आफ्नै गाउँठाउँमा राेजगार, स्कुल बस, यात्रु बस, घरमै स्वास्थ्य सेवा, सिपमुलक पढाइ, स्थानीय भित्री सडक, स्थानीय बाटै उत्पादित जुत्ता चप्पलकाे बजारीकरण, एम्बुलेन्स सेवा, दमकल पुग्ने सडक र घर नजिकैका रुख काट्नु पाउनुपर्ने लगायतका माग राखेका थिए ।जवाफमा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले नगरपालिकाले प्राथमिकताका आधारमा धेरै काम गरिरहेकाे र बाँकी केही कामहरू गर्ने तयारीमा रहेको बताएका थिए । उनले अभिभावक तयार भएमा र विद्यार्थी प्रशस्त भएमा विद्यालयमा बस सेवा तत्काल संचालन गर्न नगरपालिका तयार रहेको बताएका थिए । सबै सहभागीले राखेको प्रश्नको छुट्टाछुट्टै जवाफ दिँदै नगरपालिका प्रमुख पन्थीले रेसुङ्गा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गुल्मी अस्पतालसँग मिलेर आमूल परिवर्तन गरेको, शिक्षामा अब्बल रहेको, पूर्वाधारकाे क्षेत्रमा मुख्य सडकहरु कालाेपत्रे गरेको, भित्री सडकहरू कालो पत्रे गर्ने तयारीमा रहेको, कृषि र पशु उपजकाे बजार ग्यारेन्टी गर्ने गरी कार्यक्रम ल्याउन लागेको लगायतका प्रतिबद्धता गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया