गुल्मीका एम्बुलेन्सले एक महिनाभित्र जिपिएस जडान गर्नुपर्ने



टाेपलाल अर्याल


गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले एम्बुलेन्स संचालनमा कडाई गर्ने योजना बनाएको छ । नागरिक स्तरबाट व्यापक गुनासो आएपछि जिल्ला एम्बुलेन्स व्यावस्थापन समितिको बैठक बसेर केहि महत्वपूर्ण निर्णय समेत गरेको छ । एम्बुलेन्स चालकहरुले वास्तविक स्थान र सूचना नदिने, स्थानीय तहका एम्बुलेन्सहरु पनि बजार केन्द्रित भएर बस्ने र बिरामी बाहेकका यात्रु राख्ने गरेका गुनासा आउने गरेका छन् ।

जिल्ला एम्बुलेन्स व्यावस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्ला संचालित सवै एम्बुलेन्समा अनिवार्य जिपिएस सिस्टम जडान गर्ने निर्णय गरेको छ । जिपिएस सिस्टम जडान भएपछि सहि ठाउँ नभन्ने चालकको प्रवृति नियमन हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘एम्बुलेन्सका व्यापक गुनासा आएका छन् । निगरानी बढाइरहेका कारबाही पनि गर्छौ,’उनले भने,‘नियमनका लागि बैठक बसेर चारवटा महत्वपूर्ण निर्णय पनि गरेका छौ ।’

Jeewan and Rajan Tailors

त्यस्तै सवै एम्बुलेन्सको ‘ख’ वर्गमा स्तरोन्नति गर्ने निर्णय बैठकले गरेको छ । दुवै प्रक्रियामा स्वास्थ्य कार्यालय गुल्मीले समन्वय गर्नुगर्ने उल्लेख छ । एम्बुलेन्सहरुले बैशाख मसान्तसम्म जिपिएस जडान गर्ने र स्तरोन्नतिको लागि जिल्ला एम्बुलेन्स व्यावस्थापन समितिलाई ध्यानाकर्षण गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लामा सरकारी तथा गैसरकारी संस्थाका गरेर ५७ एम्बुलेन्स रहेको जानकारी दिए । तीमध्ये ४१ चल्ने र १६ नचल्ने अवस्थामा छन् । शर्माका अनुसार ३२ एम्बुलेन्समा जिपिएस जडान गर्नुपर्ने छ । भने नौ वटा एम्बुलेन्स मात्रै ‘ख’ वर्गका भएकाले अरुलाई स्तरोन्नति गर्न थालिएको शर्माले बताए ।

The Star Family Restaurant

त्यस्तै दुर्घटना स्थलबाट पायक पर्ने स्थानसम्म एम्बुलेन्सले निशुल्क सेवा दिनुपर्ने व्यावस्था कडाईका साथ कार्यान्वयन गर्ने र एम्बुलेन्स संचालन गर्ने संस्थाले चुस्तदुरुस्त अवस्थामा संस्था भएकै ठाउँमा राख्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरि प्रसाद गैरैले जानकारी दिए । बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, रेडक्रस सोसाइटी, यातयात व्यावसायी, गुल्मी अस्पताल र संयुक्त एम्बुलेन्स संचालक संघका प्रमुख एवं प्रतिनिधीहरु सहभागी थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया