मालिकामा वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन



सन्तोष महतारा


गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमका लागि शुक्रबार सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गर्न मालिका गाउँपालिकाका सरोकारवाला निकायसँग छलफल गरि गाउँपालिकाले सुझाव संकलन गरेको हो ।

सुझाव संकलनको क्रममा सहभागीहरुले गाउँपालिकाका जनप्रतिनिधिहरुलाई रचनात्मक सुझावहरु दिएका थिए । कृषि र पशु उपजको बजारीकरण ग्यारेण्टी, पकेट क्षेत्रको विस्तार, सह–लगानी वा साझेदारीमा कृषि र पशुपालनमा लगानी गर्ने जस्ता नीति बनाउनुपर्ने सहभागीहरुले सुझाव दिए ।

Jeewan and Rajan Tailors

शिक्षाको गुणस्तर कायम गर्नको लागि शिक्षक प्रशिक्षण, पालिका भित्रै शिक्षकको सरुवा, शिक्षकको नियमन, अंग्रेजी बिषयलाई प्राथामिकता दिने र विद्यार्थीलाई घरमा व्यस्त गराउने गरि शिक्षकको भूमिकालाई व्यवस्थित गर्ने गरि वार्षिक नीति तथा कार्यक्रम तय गर्नुपर्ने सुझावहरु सहभागीले दिएका थिए ।

The Star Family Restaurant

हरित गृह पालिकाको अवधारणा, प्लाष्टिकजन्य वस्तुको प्रतिबन्ध, बनजंगल प्रयोग गर्नुपर्ने, खानीहरुको अध्ययन र उत्खनन तथा लेकपोखरी देखि मालिका पिस पार्कसम्म पैदल मार्गको निर्माण गरि पर्यटक तान्नुपर्ने जस्ता नीति र कार्यक्रम तय गर्नुपर्ने सहभागीहरुको जोड रहेको छ ।

मालिका गाउँपालिका अन्तर्गत नेटा, दर्लिङ, ह्वाङ्दीलाई क्रमशः छापहिले र अर्खबाङ्गसम्म जोडेर पर्यटकीय गन्तब्य बनाउन आकाशे झोलुङ्गे पुल राख्ने गरि नीति तथा कार्यक्रम ल्याउनुपर्ने सहभागीहरुले बताएका थिए ।

आर्थिक विकासको लागि आन्ताकि आम्दानी वृद्धि गर्न साझेदारीका कार्यक्रममा लगानी गर्ने, व्यावसायिक करलाई मात्र आम्दानी मान्ने नीति अन्त्य गर्नुपर्ने र विकासका काममा ध्यान दिनुपर्ने गरि वार्षिक नीति तथा कार्यक्रम तय गर्नुपर्ने सुझाव संकलनमा सहभागीहरुले सुल्झाए ।

मालिका गाउँपालिकाका पुर्व जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालय, विद्यालय, वित्तीय संस्था, सहकारी संजाल, गैसस, सामुदायिक वन, आमा समुह, टोलविकास संस्था, उपभोक्ता समिति लगाएतका प्रमुख वा प्रतिनिधिहरुले सुझाव दिएका थिए ।

सुझाव संकलन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकास खनालले चालु आर्थिक वर्षका वार्षिक गतिविधि र आगामी आर्थिक वर्षमा गर्न सकिने सामान्य कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले सुझाव संकलन कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै स्थानीयवासीको सुझावकै आधारमा वार्षिक नीति तथा कार्यक्रम तय गर्ने बताएका थिए ।

गाउँपालिका अध्यक्ष देविराम अर्यालले सुझाव दिनको लागि सहभागी सबैलाई धन्यवाद दिँदै त्यही अनुरुप आफुहरु अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । ‘सुझावहरु कार्यान्वयन योग्य र विकासका लागि उत्तम छन्’, उनले भने, “हामीले वार्षिक नीति तथा कार्यक्रममा अधिकांश सुझाव समेट्ने छौं ।” गाउँपालिका अध्यक्ष अर्यालले मालिका गाउँपालिकाको विकासका लागि आफुहरु सदैव दत्तचित्त रहेर काम गरिरहेको बताए । अध्यक्ष अर्यालले आगामी आर्थिक वर्षमा शैक्षिक सुधार वर्ष घोषण गरिएको र अन्य क्षेत्रलाई पनि प्राथामिकताका साथ काम गर्ने बताएका थिए ।

गाउँपालिकालाई सुझाव दिन जनप्रतिनिधिलाई प्रत्यक्ष भेटेर, फाने गरेर, इमेल मार्फत तथा विभिन्न सामाजिक संजालको प्रयोग गरेर दिन सकिन्छ । सुझाव संकलनको लागि गाउँपालिकाले सबैसँग आग्रह गरिरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया