गुल्मीमा ५९ गैर पत्रकारको सदस्यता कटौती



सन्तोष महतारा


गुल्मी । सदस्य कायम रहेका तर पत्रकारितामा सक्रिय नरहेका ५९ जनाको सदस्यता नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले कटौती गरेको छ । नेपाल पत्रकार महासंघले देशभर संचालन गरेको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत गुल्मीमा अब २६ जनाको सदस्यता मात्र कायम रहेको हो ।

गत बैशाख १६ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औं साधारण सभामा केन्द्रीय अभियानलाई सार्थकता दिन कार्यसमितिले कार्यदल बनाएर जिम्मा लगाएको थियो । शाखाले पूर्वअध्यक्ष जर्नादन घिमिरे संयोजकत्वमा निवर्तमान अध्यक्ष नवराज भुसाल र कार्यसमिति सहसचिव तिलाचन पाण्डे सदस्य रहने गरि कार्यदल गठन गरेको थियो ।

Jeewan and Rajan Tailors

कार्यदलका संयोजक जर्नादन घिमिरेका अनुसार आफुहरुले केन्द्रीय शुद्धीकरण अभियानलाई पूर्ण कार्यान्वयन गरेको बताउनुभयो । “समाचार उत्पादन गर्नेको मात्र सदस्यता कायम रहने मापदण्ड छ” घिमिरेले भन्नुभयो, “गैर पत्रकारको सदस्यता कटौती गरेर शुद्धीकरण गरेका हौं ।” पत्रकारितामा योगदान गर्ने सदस्यहरुलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई स—सम्मान विदाइ गरिएको छ । औपचारिक विदाइ भने बाँकी छ ।

The Star Family Restaurant

कार्यदलले २६ जनाको सदस्यता कायम राख्ने गरि पेश गरेको प्रतिवेदन कार्यसमितिबाट बहुमतले पारित भएको शाखाका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभयो । कार्यदलले पेश गरेको प्रतिवेदनमा पत्रकारितामा क्रियाशील नरहेको दुई बहालवाला उपाध्यक्ष, एक सहसचिव, एक कोषाध्यक्ष र तिन सदस्यको सदस्यता समेत कटौती गर्ने उल्लेख थियो । एक उपाध्यक्ष, एक सहसचिव र एक सदस्यले असमति जनाए पनि बहुमतले कार्यदलको प्रतिवेदन पारित भएको हो ।

जिल्ला शाखा गुल्मीका अध्यक्ष अर्यालका अनुसार कार्यदललाई पूर्ण जिम्मेवारी दिएकोले त्यही अनुरुप कार्यसमिति अगाडि बढेर प्रदेश र केन्द्रमा पठाइएको हो । “केन्द्रीय अभियानमा गुल्मीले सबैभन्दा पहिले साथ दिएको छ” उहाँले भन्नुभयो, “अब गुल्मीमा २६ पत्रकार महासंघ सदस्य रहनुहुन्छ ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले पत्रकार सदस्यता शुद्धीकरणलाई कार्यान्वयन गरेकोमा कार्यदल र कार्यसमितिलाई धन्यवाद दिनुभयो । “खास पत्रकारहरुको साझा संगठन महासंघ हो” उहाँले भन्नुभयो, “गुल्मीले जस्तै सबै शाखाले शुद्धीकरणमा सहयोग गर्नुपर्छ ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गुल्मी शाखाको साधारण सभामासदस्यता शुद्धीकरण अभियानलाई साथ दिन आग्रह गर्नुभएको थियो । त्यसपछि गुल्मीले कार्यदल बनाएर पत्रकार सदस्यता शुद्धीकरण अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएको हो ।

नेपाल पत्रकार महासंघ गुल्मी शाखा वि.सं. २०६१ सालमा स्थापना भएको थियो । हाल पत्रकार महासंघ गुल्मीको अध्यक्ष निवास सहितको आफनै भवन रहेको छ । यसअघि ८५ जना सदस्य रहेको गुल्मीमा अब २६ जना सदस्य मात्र कायम रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया