गुल्मी साप्ताहिक पत्रिका, १० फागुन / नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री बद्री पाण्डेले एमसिसी अनुमोदन हुने बताएका छन् । नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहेका केन्द्रीय सह-महामन्त्री पाण्डेले एमसिसी संसदबाट अनुमोदन हुने बताएका हुन् ।
“संसदीय प्रक्रिया पूरा गरेर एमसिसी अनुमोदन हुन्छ ।” प्रमुख प्रशिक्षक पाण्डेले भने, “गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने गरेर नेपाली काँग्रेस अगाडी बढेको छ ।” पाँच दलिय गठबन्धनप्रति नेपाली काँग्रेसको पूर्ण विश्वास रहेको भन्दै प्रचण्ड र माधव नेपाल प्रति काँग्रेसको पूर्ण निष्ठासहित एकता र मेलमिलापको भाव आफूहरुले राखेको उनले बताए ।
सरकारमा सहभागी गठबन्धनकै दलले एमसीसीको विरोध गरिरहेको प्रसंगमा पाण्डेले सरकारमा बसेर सरकारको कार्यसूची र ध्येयमाथि अवरोध सिर्जना गर्नले गठबन्धनप्रति विश्वास घट्न सक्ने बताए । एमसिसी जूनसुकै आधार र कोणबाट पनि विकास निर्माणको योजना भएकोले सबै कार्यकर्ताले एमसिसीको बारेमा अध्ययन गर्न पनि उनले आग्रह गरेका छन् ।
चिनियाँ समर्थकहरुले एमसिसीको बिरोध गर्नुले आफ्नो देशको बिकासमा अबरोध आउने भएकोले एमसिसीमा कसैले आपत्ति जनाउनु आवश्यक नरहेको सह-महामन्त्री पाण्डेले बताए । नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अन्तर्गत सदरमुकाम तम्घासमा एक दिने बृहत कार्यकर्ता प्रंशिक्षण कार्यक्रम राखेको छ । प्रशिक्षकको रुपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर गोविन्दराज पोखरेल र नेपाली काँग्रेस कास्कीका नेता देबराज चालिसे पनि रहेका थिए ।