‘आफूले रोप्ने फूल आफैं संरक्षण गर्ने’ अभियान सुरु, नमुना टोल विकास तम्घासले फूल रोप्यो



Live Gulmi


गुल्मी । गुल्मीको सदरमुकाम तम्घासलाई थप हराभरा, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले नमुना टोल विकास संस्था, तम्घास ले ‘आफ्नो फूल आफैं संरक्षण गर्ने’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत शनिबार बिहान सदरमुकाम तम्घासस्थित चिदीचाैर  खेलमैदान नजिकै नेपाल टेलिकम कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडिकाे सडक किनारमा २१ वटा फूलका बिरुवा रोपिएका छन् ।

रोपिएका प्रत्येक बिरुवाको संरक्षण सम्बन्धित व्यक्ति तथा संस्थाले नै गर्ने अवधारणाअनुसार अभियान सञ्चालन गरिएको हो । अभियानको शुभारम्भ रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी ले गर्नुभएको थियो । उहाँले नगरको सौन्दर्य अभिवृद्धि, वातावरण संरक्षण र सरसफाइमा यस्ता अभियानले महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै रोपिएका बिरुवाको संरक्षणमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नमुना टोल विकास संस्थाका सदस्य तथा नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष ध्रुव पाण्डेले बजारलाई हरियालीयुक्त र सुन्दर बनाउने उद्देश्यले फूल रोपणसँगै सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले रोपिएका बिरुवाको संरक्षण सम्बन्धित व्यक्ति तथा संस्थाले नै गर्ने भएकाले अभियान दीर्घकालीन रूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

फूल रोपण कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले फूल रोप्नुका साथै सडक किनार र सार्वजनिक स्थलको सरसफाइसमेत गरेका थिए ।
फुटपाथ किनारमा फूल रोपिएसँगै तम्घासको चिदीचाैर क्षेत्र, नेपाल टेलिकम परिसर तथा जिल्ला प्रहरी कार्यालय आसपासको वातावरण थप हरियालीयुक्त, सफा र आकर्षक बन्ने अपेक्षा गरिएको छ । स्थानीयले यस्ता अभियानले वातावरण संरक्षणका साथै सार्वजनिक सम्पत्तिप्रतिको अपनत्वसमेत बढाउने विश्वास व्यक्त गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया