गुल्मी । इस्मा गाउँपालिका–१ को हस्तिचौर (उजुङ) स्थित धार्मिक आस्था र आकर्षणको केन्द्र खड्ग जालपा देवी कोट मन्दिर परिसरमा स्थानीयवासीहरूको सामूहिक सहभागितामा व्यापक श्रमदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय युवा बिक्रम विश्वकर्माको पहल र सक्रियतामा आयोजित यस श्रमदान कार्यक्रममा वरपरका करिब १०० घरधुरीका स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। स्वेच्छाले जुटेका यी स्थानीयवासीले मन्दिर परिसर, वरपरका बाटोघाटो तथा नजिकैको क्षेत्रलाई सफा गर्दै मन्दिरको वातावरणलाई थप स्वच्छ र मनमोहक बनाउने प्रयास गरेका थिए।
श्रमदान कार्यक्रमका क्रममा मन्दिर व्यवस्थापन समितिका सदस्यहरू नारायण कुँवर र रामप्रसाद पाण्डेले उपस्थित स्थानीयवासीलाई मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वबारे विस्तृत जानकारी दिए। उनीहरूले पछिल्लो समय यस मन्दिरमा आन्तरिक मात्र नभई बाह्य जिल्लाबाटसमेत पर्यटक तथा दर्शनार्थीहरूको आगमन उल्लेख्य रूपमा बढ्दै गएको जानकारी गराए।
सामूहिक श्रमदानपश्चात् मन्दिर परिसर पहिलेभन्दा थप सफा, सुन्दर र व्यवस्थित देखिएको छ, जसले स्थानीयवासीमा हर्ष र सन्तुष्टि थपेको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनसँगै क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि यस्ता स्वच्छता अभियानहरूलाई निरन्तरता दिइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
साथै, आगामी दिनमा पनि यस्तै सामूहिक प्रयासहरू भइरहनुपर्ने र मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वलाई संरक्षण गर्दै यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा स्थानीयवासीको एकमत रहेको छ ।










