उद्यमी, श्रमिक र उपभोक्ता अधिकारका विषयमा अन्तरक्रिया



Live Gulmi


गुल्मी । जिल्लाका उद्यमी, उद्योगी व्यवसायी, श्रमिक तथा सरोकारवालाबीच श्रमिक तथा श्रमिक सञ्जालसँगै उपभोक्ताको अधिकार र स्थानीय उद्यम विकासका सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भएको थियो । “औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार” भन्ने नारासहित श्रमिक तथा श्रमिक सञ्जालका सदस्य, उद्यमी, उद्योगी व्यवसायी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले श्रमिक अधिकार, उपभोक्ता अधिकार, बजार व्यवस्थापन तथा औद्योगिक वातावरण सुधारका विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले उपभोक्ता अधिकार संरक्षणका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउँदै सेवा र वस्तुको गुणस्तर कायम गर्न जोड दिनुभयो ।

त्यस्तै पत्रकार तथा मानव अधिकारकर्मी टोपलाल अर्यालले स्थानीय उद्यमका सम्भावना, उत्पादन वृद्धि, बजार विस्तार तथा स्थानीय स्रोत–साधनको उपयोगमार्फत आर्थिक विकास गर्न सकिने विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न उद्यमी, सरकार र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उपभोक्ताको तर्फबाट बजार अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने, तरकारीमा विषादी परीक्षण, दूधको गुणस्तर परीक्षण लगायतका विषयमा सहभागीहरूले जिज्ञासा तथा गुनासा उठेका थिए । सहभागीका प्रश्नको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी गैह्रेले उपभोक्ता हित संरक्षणका लागि प्रशासनले अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

( Jeevan rajan

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सोही कार्यालयका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले गर्नुभएको थियो ।

कार्यक्रमले श्रमिक, उद्यमी, व्यवसायी र उपभोक्ताबीच आपसी समझदारी बढाउँदै स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि साझा धारणा निर्माण गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया