गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पूर्ण खाेप पालिका सुनिश्चितता तथा दिगोपना सुनिश्चित गरिएको छ । यसअघि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका र पूर्ण खाेप पालिका घोषणा भएकोमा यसवर्ष सुनिश्चितता गरिएको हो ।
गाउँपालिका अध्यक्ष युवराज केसीले उक्त कार्यक्रम औपचारिक उद्घाटन गर्दै शुभारम्भ गरे । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्माले यसवर्ष उक्त सुनिश्चितताका लागि पूरा गरिएका मापदण्ड प्रस्तुत गरे । जसअनुसार, यसवर्ष पालिकाभित्रका स्वास्थ्य संस्थामा दुई सय तीन जना महिला सुत्केरी भएका छन् । जून शतप्रतिशत हो । जसमा लागि पालिकाभित्र छ वटा वर्थिङ सेन्टर रहेका छन् भने सुरक्षित मातृत्व कार्यक्रम पनि संचालन भएको थियो । लक्षित समूह अन्तर्गतका ७६१ बालबालिकाले पूर्ण रुपमा खाेप पाएका छन् ।
पालिकाकाे तर्फबाट सबै वडालाई सुनिश्चितता तथा दिगोपना सुनिश्चितका लागि पुर्याएकाे याेगदानप्रति सम्मानपत्र तथा सुनिश्चितता साथै दिगोपना प्रमाणपत्र प्रदान गरिएको थियो । वर्थिङ सेन्टर तथा स्वास्थ्य संस्था अन्तर्गतका स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।
जिल्ला खाेप समन्वय समितिकाे तर्फबाट सदस्य सचिव स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले पालिकालाई पूर्ण संस्थागत प्रसूति तथा पूर्ण खाेप पालिका सुनिश्चितता तथा दिगोपना सुनिश्चित प्रमाणपत्र प्रदान गरिएको थियो । सबै मापदण्ड अन्तर्गतका सूचकहरु चन्द्रकाेटले पूर्ण रुपमा पूरा गरेपछि सुनिश्चितता हुन सफल भएको थियो । घाेषणा गरेपछि प्रत्येक वर्ष सुनिश्चितता तथा दिगाेपना गर्न सफल भएको गाउँपालिका प्रशासन शाखा प्रमुख शिवप्रसाद ज्ञवालीले बताए । उनले सबै सूचकहरु निरन्तर पूरा गरिरहेकाे पनि बताए ।
स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापाले महत्त्वपूर्ण दुई सूचकहरु पूरा गर्न अथक प्रयास गरेकोमा खुसी लागेको बताइन् । उनले अब निरन्तर शुन्य हाेम डेलिभेरी र सबै बालबालिकाले पूर्ण रुपमा खाेप पाउनुपर्ने बताइन् । आगामी वर्षमा निरन्तरता दिन सबै एकताबद्ध लाग्नुपर्ने भन्दै उनले स्वास्थ्य कार्यालयकाे तर्फ समन्वय, सहजीकरण र सहयोग हुने पनि बताइन् ।
वडा नम्बर ५ का वडाध्यक्ष पृथबहादुर कार्कीले शुन्य हाेम डेलिभेरी र पूर्ण खाेप पालिका बनाउन स्वास्थ्यकर्मीले गरेको मेहनतकाे प्रशंसा गरे । स्वास्थ्य स्वयंसेविकाकाे याेगदान अतुलनीय रहेकोमा वहाँहरुकाे कदर हुनुपर्ने पनि उनलेे बताए ।
वडा नम्बर १ का वडाध्यक्ष तथा पालिका प्रवक्ता घनश्याम खरेलले निरन्तरताका लागि चुनाैती रहेपनि निरन्तर हुनेमा बिश्वास व्यक्त गरे । स्वास्थ्यकर्मीकाे मनाेबल थप वृद्धि गराएर यसलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले वर्थिङ सेन्टर र खाेपमा खटिने स्वास्थ्यकर्मीका कारणले सुनिश्चितता तथा दिगोपना हुन सफल भएको बताए । फिल्डमा काम गर्नेदेखि लिएर तथ्यांक रिपोर्ट र रिपोर्टिङ पनि महत्त्वपूर्ण रहेको बताए । सबै सूचकहरु पूरा गरेपछि सुनिश्चितता पाएको र आगामी दिनमा पनि सुनिश्चितता हुने बताए ।
गाउँपालिका अध्यक्ष युवराज केसीले पालिका पुनः एकपटक पूर्ण संस्थागत प्रसूति र पूर्ण खाेप पालिका सुनिश्चित बन्न सक्षम तथा सफल भएको बताए । उनले गतवर्ष पूर्ण संस्थागत प्रसूति घाेषणा गरिएकोमा यसवर्ष सुनिश्चित गर्न सकिएको र २०७१ सालदेखि नै गुल्मी जिल्ला नै पूर्ण खाेप सुनिश्चित हुँदैआएको बताए । उनले चन्द्रकाेटमा अब निरन्तर रुपमा दुवै कार्यक्रमका सबै सूचक पूरा गरेर दिगाेपना सुनिश्चितता हुने पनि बताए ।
चन्द्रकाेट आधारभूत अस्पतालसहित पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा रहेको, छ वटा संस्थामा वर्थिङ सेन्टर रहेको र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि लगायतका कार्यक्रम पनि संचालन भइरहेको गाउँपालिका अध्यक्ष केसीले बताए ।









