गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ले मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामका लागि समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरेको छ ।
गाउँपालिकाको आयोजनामा आज चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बसपार्क तथा वडा नं. ८ तुराङ्ग मजुवामा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो। पछिल्लो समय समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जानुका साथै समयमै पहिचान, उपचार र व्यवस्थापनमा चुनौती कायमै रहेको सन्दर्भमा जनस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
प्रदर्शित सडक नाटकमा मानसिक तनाव, पारिवारिक तथा सामाजिक दबाब, मानसिक रोगप्रतिको गलत धारणा, आत्महत्याका जोखिम कारक तथा समयमै परामर्श र उपचारको आवश्यकताजस्ता विषयलाई समेटिएको थियो। नाटकमार्फत मानसिक स्वास्थ्य समस्या लुकाएर राख्नुभन्दा खुला रूपमा परिवार, समुदाय तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्ने सन्देश दिइएको थियो।
सचेतनामूलक सडक नाटकमा शारदा बालक्लव का विद्यार्थीहरूले अभिनय गरेका थिए । विद्यार्थीहरूले जीवन्त प्रस्तुति दिँदा स्थानीय बासिन्दाले समेत चासोका साथ नाटक अवलोकन गरेका थिए । मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिएर यसरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । यस्ता कार्यक्रमले मानसिक स्वास्थ्यसम्बन्धी भ्रम हटाउन, समस्या पहिचान गर्न तथा आवश्यक सहयोग र उपचारमा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरेको उनले बताए । उनले आफ्नै प्रतिभावान विद्यार्थीले उत्कृष्ट सन्देशमुलक नाटक प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। गाउँपालिकाले आगामी दिनमा पनि मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथामका लागि समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।









