गुल्मीको सिस्तुङमा एकै दिन सय रोपनीमा धान रोपाइँ



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६, सिस्तुङमा एकै दिन १०० रोपनी खेतमा धान रोपाइँ गरिएको छ। पहाडी भूपरिवेशमा यस्तो सामूहिक रोपाइँ दुर्लभ मानिन्छ। तर यो रोपाइँ केवल कृषि कार्य मात्रै होइन, एक भव्य सांस्कृतिक उत्सवका रूपमा सम्पन्न गरिएको हो।

स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले विगत दुई वर्षदेखि यसलाई विशेष परम्परा बनाउँदै आएका छन्। यसपटक अर्यालले आफ्नो ७० रोपनी खेत र ३० रोपनी लिजमा लिएर कुल १०० रोपनी क्षेत्रफलमा धान खेती गरेका हुन्।

एकै दिनमा १०० जना खेतालाहरूले रोपाइँ गरेका थिए भने ५० जना ठिगारे र तीनवटा ट्याक्टर प्रयोग गरिएको थियो। रोपाइँमा त्यसको दोब्बर संख्यामा स्थानीयहरू सहभागी थिए, जसमा नाचगान, गीत–संगीत र पञ्चे बाजासहितको सांस्कृतिक माहोल थियो। राष्ट्रिय कलाकारहरू हरि खत्री, शकुन्तला गैरे र हिमाल कुँवरको प्रस्तुति कार्यक्रमको आकर्षण थियो।

अर्यालले खेतीलाई बोझ नभइ उत्सवको रूपमा लिने सन्देश दिन यस्तो कार्यक्रम गर्दै आएका छन्। “पञ्चे बाजासँगै गीत–संगीतमा रमाउँदा थकाइ छैन, उल्टै मन रमाउँछ,” उनले बताए।

( Jeevan rajan

महिला र पुरुषहरूको सक्रिय सहभागिताले सामूहिक खेतीको परिकल्पना जीवन्त भएको देखिएको छ। स्थानीय सरकार र कृषि प्राविधिकहरूले यसलाई ‘नमूना परियोजना’को रूपमा लिएका छन्। अर्याललाई यसवर्ष गाउँपालिकाले ‘उत्कृष्ट कृषक’का रूपमा समेत सम्मान गरेको छ।

स्थानीय उत्पादनको ब्राण्डिङ : ‘धुर्कोटे चामल’
अर्यालले उत्पादन गरेको धानलाई ‘धुर्कोटे चामल’ नाम दिई यसै वर्षदेखि औपचारिक रूपमा ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी बजारमा पठाइएको छ। २५ किलोग्रामको प्याकेटको मूल्य रु. २५०० तोकिएको छ।

अर्यालका अनुसार अघिल्लो वर्ष मात्रै उनले ४ सय मुरि धान उत्पादन गरेका थिए। चामलको माग उच्च रहेको र ‘धुर्कोटे चामल’ले बजारमा छुट्टै पहिचान बनाउन थालेको उनले बताए।

उत्पादनसँगै प्रशोधन र विक्रीमा जोड दिँदै उनले गाउँमै कृषि व्यवसायिकरण र स्वरोजगारको सम्भावना बलियो बनाएका छन्। बाँझो जमीन भाडामा लिएर मकै र कोदो उत्पादनतर्फ पनि उन्मुख भएका उनले अर्को वर्ष मकैको आटो र कोदो बजारमा ल्याउने योजना सुनाए।

दुग्ध उत्पादनमा पनि आत्मनिर्भरता
कोरियामा वैदेशिक रोजगारी र बुटवलमा १६ वर्षको बसाईपछि गाउँ फर्किएका अर्याल हाल भैँसी पालनमा पनि लागेका छन्। उनको फर्ममा हाल २२ वटा माहु भैँसी र ४२ वटा भारतबाट ल्याइएका मुर्रा जातका भैँसी छन्। दैनिक १०० लिटर दूध उत्पादन भइरहेको छ।

तीन वर्षअघि एक करोड रुपैयाँ लगानीमा सुरु भएको फर्मबाट हाल २० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिइएको छ।

गाउँमै कृषि उत्सव, उत्पादन, ब्राण्डिङ र रोजगारी सिर्जना गर्न सफल अर्यालको यो प्रयास पहाडी कृषि क्षेत्रका लागि प्रेरणादायी उदाहरण बनेको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया