१३२ केभी तम्घास-बुर्तिबाङ प्रसारण लाइनको आजदेखि परीक्षण सुरु



अनिल खत्री


गुल्मी । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएको १३२ केभी तम्घास–बुर्तिबाङ डबल सर्किट प्रसारण लाइनको आजदेखि परीक्षण प्रसारण सुरु गरेको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनायचौरस्थित सबस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२, खल्टुबोटस्थित सबस्टेशनसम्म विद्युत प्रवाह गरी परीक्षण थालिएको हो।

उच्च सतर्कता अपनाउन अपील

१३२ हजार भोल्टको उच्च क्षमताको विद्युत प्रवाह हुने भएकाले प्राधिकरणले सर्वसाधारणलाई टावरमा नचढ्न, तार वा संरचनालाई नछुन र टावर वरिपरि वस्तुभाउ नलैजान आग्रह गरेको छ। परीक्षणका क्रममा कतै झिल्का (स्पार्क) देखिएमा वा जोखिमपूर्ण अवस्था आएमा तुरुन्त नजिकको प्रहरी चौकी वा विद्युत कार्यालयमा जानकारी दिन आयोजनाले अनुरोध गरेको छ।

प्रभावित क्षेत्र र लाभ

( Jeevan rajan

प्रसारण लाइनको रुटमा गुल्मीका रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका र बागलुङका बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिकाका विभिन्न वडाहरू पर्दछन्। यसअघि बुटवलबाट लामो दूरीको लाइनमार्फत विद्युत ल्याउँदा हुने ‘लो भोल्टेज’ र छिनछिनमा बत्ती जाने समस्या अब समाधान हुनेछ।

​करिब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना २०६८ सालमा तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पालामा सुरु गरिएको थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएसँगै गुल्मी, अर्घाखाँची र बागलुङको विद्युत आपूर्ति थप भरपर्दो र सुदृढ हुने अपेक्षा गरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया