गुल्मीदरबारमा १५ शय्याको अस्पताल सञ्चालन, स्थानीयलाई घरदैलोमै सेवा



अनिल खत्री


गुल्मीगुल्मीको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी घरदैलोमै स्वास्थ्य सेवा पाउन थालेका छन्। गत वैशाख महिनादेखि सञ्चालनमा आएको उक्त अस्पतालमा हाल दैनिक ३० जनासम्म बिरामीले सेवा लिइरहेका छन्।

नेपाल सरकारले २०७७ साल मंसिर १५ गते देशभरका स्थानीय तहमा एकसाथ अस्पताल निर्माणको शिलान्यास गरेको थियो। कतिपय स्थानीय तहमा निर्माण प्रक्रिया सुस्त भएको भए पनि गुल्मीदरबार गाउँपालिकाले निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइसकेको छ।

गाउँपालिकाको वडा नं.–३, गौंडाकोटमा सञ्चालनमा आएको अस्पतालमा एक जना एमबिबिएस डाक्टरसहित नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, स्वास्थ्य सहायकलगायतका जनशक्ति खटाइएको स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए।

अस्पतालमा प्रारम्भिक रूपमा आकस्मिक सेवा, बाहिरी बिरामी सेवा (ओपीडी), प्रसूति सेवा, सामान्य सर्जरी, स्वास्थ्य परीक्षण, खोप तथा औषधि वितरण सेवा सञ्चालनमा छन्।

( Jeevan rajan

स्थानीय दीपा थापाले अस्पताल गाउँमै सञ्चालनमा आएपछि उपचारका लागि तम्घास, पाल्पा वा बुटवल जानुपर्ने बाध्यता हटेको बताइन्। “अहिले घर नजिकै अस्पतालमा उपचार पाउँदा निकै सहज भएको छ,” उनले भनिन्।

स्थानीय कृष्णबहादुर मगरका अनुसार गाउँमै डाक्टरसहितको सेवा सञ्चालनमा आएसँगै सबैको पहुँचमा स्वास्थ्य सेवा पुगेको छ। “यसले गाउँलेहरूको जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याएको छ,” उनले भने।

गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार अस्पताल सञ्चालन गर्न जनशक्ति व्यवस्थापनदेखि उपकरण व्यवस्थासम्म चुनौतीहरू छन्। “तर, आफ्नै स्रोत र साधन प्रयोग गरी सेवा सुरु गरेका छौं,” उनले भने, “अब प्रविधिमैत्री सेवा विस्तार गर्दै विशेषज्ञ सेवासमेत थप गर्ने योजना बनाएका छौं।”

स्वास्थ्य संयोजक अर्यालका अनुसार अस्पतालले गर्भवती महिला, वृद्धवृद्धा र बालबालिकाका लागि विशेष लाभ पुर्‍याइरहेको छ। गाउँपालिकाले मातृशिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य र दीर्घरोग उपचारमा विशेष ध्यान दिँदैछ।

गाउँपालिकाले नसर्ने रोगसम्बन्धी घरदैलो सचेतना अभियानसमेत सञ्चालन गर्दै आएको छ। सम्पूर्ण वडाबाट एम्बुलेन्स सेवा थप प्रभावकारी बनाइँदैछ।

१५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याउने गुल्मीदरबार, जिल्लामै पहिलो पालिका भएको छ। अस्पताल सञ्चालनमा आएपछि छिमेकी पालिकाबाट समेत बिरामी गुल्मीदरबार आउन थालेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया