गुल्मी । प्रेस सेन्टर नेपाल गुल्मीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रबाट घोषित कार्यक्रमअनुसार आइतबार देशभर ज्ञापनपत्र बुझाउने क्रममा गुल्मीमा पनि प्रेस सेन्टरको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।
प्रेस सेन्टर गुल्मीका उपाध्यक्ष बासुदेव प्रोखरेलका अनुसार जिल्ला कार्य समितिको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र प्राप्त गर्दै गैरेले आइतबारमै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ज्ञापनपत्रमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न कथित राजावादी समूहका नाइकेलाई कानुनी कारबाही गर्न, र रजकलाई शहीद घोषणा गर्दै उनका परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरिएको छ ।
त्यस्तै, संविधानको भावना अनुसार प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने सञ्चार नीतिहरू तत्काल निर्माण गर्न, श्रमजीवी पत्रकार ऐन २०५२ को पूर्ण कार्यान्वयन र न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न माग गरिएको छ । पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्न र पत्रकार वृत्ति कोषसम्बन्धी मापदण्ड परिमार्जन गरी ज्येष्ठ पत्रकारहरूलाई सहज रूपमा लाभ लिनसक्ने व्यवस्था गर्न पनि ज्ञापनपत्रमा ध्यानाकर्षण गराइएको छ । प्रेस सेन्टर नेपाल गुल्मीकी सहसचिव प्रियंका पन्थीले ज्ञापनपत्रमा उल्लेखित कुराहरू प्रस्तुत गरेकी थिइन् ।