गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ स्यालामा रहेको छल्दी (पनाहा)–इन्द्रगौडा सडक बन्द गरेर स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ । ७ करोड २३ लाख ३५ हजार ७ सय ९२ रुपैयाँ ९२ पैसाको लागतमा सञ्चालन भइरहेको योजनाअन्तर्गत हाल सडकको जोखिमपूर्ण स्थानमा ढुंगा कटिङ तथा चौडा बनाउने काम भइरहेको छ ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मी मार्फत सञ्चालित योजनामा बरुण–पूर्णचण्डी–ड्रामा जेभी, पाल्पाले निर्माणको जिम्मा लिएको छ । योजनाअन्तर्गत सडकको चेनिज ०+९४० देखि १+१४० र ४+२०० देखि ८+९६० सम्मको खण्डमा स्तरोन्नति गरिनसडक पूर्वाधार विकास कार्यालय गुल्मीका इन्जिनियर लेनिस देवले बताए ।
निर्माण कम्पनीसँग २०८२ असोज २१ गते सम्झौता भएको थियो भने २०८३ चैत २९ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल स्याला क्षेत्रमा सडक कटिङका लागि एक्साभेटर प्रयोग गरी चट्टान काट्ने तथा सडक चौडा बनाउने काम भइरहेको छ ।
निर्माणको क्रममा माथिबाट ढुंगा, माटो र पहिरो खस्ने जोखिम उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले पहिलो चरणमा असार असार १८ गतेसम्म छल्दी–रातडाँडा सडक खण्डमा २४सै घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न अस्थायी रूपमा सडक बन्द गर्नुपरेको बताए ।
उनले निर्माणस्थलमा सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएकाले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय गरिएको स्पष्ट पारे । सडक पूर्वाधार विकास कार्यालय गुल्मीका इन्जिनियर लेनिस देवका अनुसार निर्माणको सुरुआती चरणमै जोखिमयुक्त कटिङ कार्य सम्पन्न गर्न सडक बन्द गरिएको जानकारी दिए ।
हाल भइरहेको कटिङ कार्य सम्पन्न भएपछि अन्य संरचना निर्माण र सडक स्तरोन्नतिको काम थप सहज रूपमा अघि बढ्ने बताए । जोखिमपूर्ण स्थानमा लामो समयदेखि स्तरउन्नती नहुँदा सडकमा दुर्घटनाको जोखिम बढदै गएको थियो ।
प्रशासनले बन्द अवधिमा तम्घास–बाख्रेछेडा–रातडाँडा सडक तथा तम्घास–अर्खले–खोरपाटा–डाँडाखर्क–रातडाँडा सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरेको छ । ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको छल्दी–इन्द्रगौडा सडक स्तरोन्नति सम्पन्न भएपछि स्थानीयवासीको आवतजावत सहज हुने, कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा टेवा पुग्ने र वर्षायाममा हुने सास्ती समेत कम हुने अपेक्षा स्थानीयले गरेका छन् ।
छल्दीदेखि रातडाँडासम्ममा जोखिम रहेको क्षेत्र बाहेक अनेत्र सडक कालोपत्रे समेत भएको छ । जिल्ला सदरमुकाम तम्घासबाट गुल्मी जिल्लासँगै छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने मुख्य राजमार्ग रहेको छ ।









