गुल्मी । राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीको प्रथम जिल्ला अधिवेशनसम्पन्न भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको चोयगामा सम्पन्न अधिवेशनले हुमनाथ पन्थको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनबाट भेषराज भुसाल र सीता पाण्डेय उपाध्यक्ष, हिमाल पन्थ सचिव, नारायण आचार्य कोषाध्यक्ष तथा श्याम न्यौपाने सह–सचिव चयन भएका छन् । त्यसैगरी मोहन ज्ञवाली, रविन पन्थ, रामप्रसाद बजगाईं, देवलाल रुपाखेती, तिलक भण्डारी र पावेल पन्थ सदस्यमा चयन भएको राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जनक पन्थले बताए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव नारायणप्रसाद भुसालले लोक भजन नेपाली समाजको मौलिक संस्कृति, सभ्यता र आध्यात्मिक चेतनाको महत्वपूर्ण आधार भएको बताए । उनले आधुनिकताको प्रभावसँगै ओझेलमा पर्न थालेका लोक भजन, भक्ति संस्कार र मौलिक परम्पराको संरक्षणका लागि प्रतिष्ठान स्थापना गरिएको उल्लेख गर्दै जिल्लास्तरमा संगठन विस्तार र नयाँ पुस्तालाई लोक भजनसँग जोड्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका विशेष छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले लोक भजनले समाजमा नैतिकता, सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने भएकाले यसको संरक्षण आजको आवश्यकता भएको बताए । उनले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्न यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनमा विभिन्न दल, संघ संस्थाका प्रतिनिधीले धारण राखेका थिए । उनिहरुले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वक्ताहरूले लोक भजनको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि सक्रियतापूर्वक काम गर्न आग्रह गरेका थिए ।
अधिवेशनले गुल्मी जिल्लाभर लोक भजन संस्कृतिको संरक्षण र विस्तारका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकका छन् । कार्यक्रमको अवसरमा केहि समय विभिन्न समुहले भजन प्रस्तुत गरेका थिए ।









