गुल्मी । गुल्मी कफिको जजनी जिल्ला । कफि जिल्लाको मुख्य आम्दानीको क्षेत्र बन्नुपथ्र्यो । तर, काम गर्नेभन्दा गफ गर्ने कार्यालय र नेतृत्वका कारण सोचे अनुसारको विकास भइरहेको छैन् । जिल्लामा स्पेशल कफि सप समेत छैन् । घर, बजार र कार्यक्रममा चियाले प्राथमिकता पाइरहेका छन् ।
गुल्मेली कफिकै प्रमोशनको लागि लुम्बिनी प्रदेश सरकारले दिएको कफि एक्पप्रे सो मेसिन समेत अलपत्र परिरहेको छ । आर्थिक बर्ष ०७५÷०७६ मा जिल्ला सहकारी संघ गुल्मीलाई तत्कालिन प्रदेश नं ५ को भूमि व्यावस्था तथा कृषि सहकारी मन्त्रालयले मेसिन प्रदान गरेको जिल्ला सहकारी संघ गुल्मीका व्यावस्थापक युवराज आचार्यले जानकारी दिए । त्यो बेला मेसिनको मुल्य छ लाख २० हजार रहेको आचार्यले बताए ।
यो मेसिनको काम पिउन योग्य कफि बनाउने हो । यसले ३० प्रकारका स्वादमा कफि बनाउँछ । तर, मेसिन चलाउने जनशक्ति नहुँदा चार बर्षदेखि सहकारीमा थन्किएर बसेको छ । यो मेसिन संचालन गरेर बिशेषता अनुसारको कफि बनाउन बारिस्ताको तालिम प्राप्त जनशक्ति आवश्यक पर्ने जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर थापाले बताए ।
आफुहरुसंग मेसिन संचालन गर्ने तालिम प्राप्त बारिस्ता राख्ने श्रोत र साधन नभएका महत्वपूर्ण उपकरण उपयोग बिहिन राख्नेपर्ने बिडम्बना रहेको थापाले बताए । ‘संस्था सिमित श्रोतकाबिच चलाएका छौ । कफिको बिषयमा गर्नुपर्ने कैयौ काम छन्,’उनले भने,‘उपकरण चलाउने मान्छे नहुँदा गुल्मेली कफिका विभिन्न स्वाद चखाउन सकिएको छैन् ।’ उनले जनशक्ति व्यावस्थापनमा स्थानीय सरकारले सहयोग गरे कफि सप खोलेर मेसिनको भरपुर उपयोग गर्ने बताए ।