गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–४ का १९ बर्षीय ऋषिराम कँडेल । जसले खुट्टाले लेखेरै एसइई परिक्षा ३.३७ जिपिए प्राप्त गरेका छन् । श्रृङ्गा जनता माविमा अध्ययनरत कंडेलले रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परिक्षा केन्द्रबाट परिक्षा दिएका थिए । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परिक्षा दिने व्यावस्था मिलाइएको थियो । ऋषिराम कडेंल जन्मजात अपाङ्ग हुन । दाहिने खुट्टाको दुई औला बाहेक अरु चल्दैनन् । तर, त्यहि दुई औलाले आफ्नो भविष्य कोर्दैछन् । त्यो पनि अरुकोभन्दा उत्कृष्ट । ऋषिराम नतिजाले उत्साहित छन् ।
लाइभ गुल्मीसँग कुरागर्दै कंडेलले साइन्स पढ्ने इच्छा रहेको बताए । ‘नतिजा अपेक्षा अनुसारकै आएकाले उत्साहित छु । सकेसम्म व्यावस्थापनको हिसाबले गाउँकै नजिकको कलेज जान्छु,’उनले भने,‘कक्षा ११ र १२ साइन्स पढ्ने योजना बनाएको छु ।’ कडेलको नजिक जनबोध मावि रहेको छ । उनले सोहि बिद्यालयबाट एसइई दिएका थिए ।
सोही बिद्यालयबाट पढ्न पाए घरबाटै बुबाले आउ–जाउ गराउन सजिलो हुने कँडेलको आशा छ । तर, पढाईको लागि जिल्ला छोड्नै परेपनि छोड्ने मानसिकतामा ऋषिराम छन् । ऋषिराम अहिले अनुतिर्ण साथीहरुलाई निराश नहुन आग्रह गरे । उनले हार स्वभाविक भएकाले हारखान नहुने तर्क गर्छन् । ‘आफुभित्रको आत्मवलनै सवैभन्दा ठुलो कुरा हो । मैले शारिरीक अप्ठ्यारोमा पनि जीवनदेखि कहिल्यै हार खाएको छैन’, उनले भने,‘लडेपनि आफुलाई चिनेर विश्वासका साथ उठ्न सक्नुपर्छ ।’ ऋषिराम हात-खुट्टा कमजोर छन् । तर, बौद्धिक क्षमता सवलकोभन्दा उत्कृष्ट छ । दुई औलाले लेख्छन्, तस्विर कोर्छन, मोवाइल तथा ल्यापटप चलाउँछन् । ऋषिराम अपाङ्गको मात्र उदाहरणीय पात्र होइनन् । सपाङ्ग व्यक्तिका मार्गदर्शक पनि हुन् ।
उनले कक्षा ४ सम्म घर नजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृङ्गा जनता माविमा पढ्दै आएका थिए । ऋषिराम ‘क’ वर्गको अपाङ्ग हुन् । उनी अरुको शाहाराबिना केहि गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र बिद्यालयसम्म आफुलाई कहिल्यै फरक र कमजोर अनुभूति गरेनन् । बुबा लक्ष्मण कंडेलले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पुराउँथे । अब पनि छोराले पढ्न चाहेको बिषय र वातावरण बनाउन आफु तयार रहेको कंडेलले बताए । उनले अहिले साइन्सनै लिएर पढ्ने चाहाना बाबुको भएकाले बिद्यालय कहाँ भन्ने एकिन नगरिएको लक्ष्मणले बताए ।