गुल्मी । रेसुंगा माविका बिद्यार्थीलाई संसदीय नमुना अभ्यास गराइएको छ । बिद्यालय उमेरबाटै लोकतान्त्रिक अभ्यास, संसदीय प्रक्रिया र नेतृत्व विकास गराउने उद्देश्यले नेपाल प्रगतिशील युवा सञ्जालको सहयोगमा नमुना अभ्यास गराइएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रपति, सभामुख, प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण, शून्य समय, विशेष समयमा निर्वाचन क्षेत्रका समस्या राख्ने, सरकारको ध्यानाकर्षण गराउने, नियमापत्ति जनाउने, प्रतिपक्षको भूमिका, सरकारको जवाफ लगायतका बिषयमा अभ्यास देखाइएको थियो । विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीका अनुसार कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू संसदीय भूमिकामा राखिएको थियो। यो अभ्यासले बिद्यार्थीहरुमा संसदीय ज्ञान मात्र नभएर सृजनशिलता प्राप्त हुने भण्डारीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले संसदीय प्रक्रियाको ज्ञानले राजनीतिक चेत र भावी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा रेसुंगा नगरपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष हिरा बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायमा अध्ययनरत विद्यार्थीहरू प्रशिक्षकका रूपमा सहभागी हुनुभएको थियो। उहाँहरुले संसदीय प्रक्रिया, विधेयक निर्माण, संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासबारे विद्यार्थीलाई सहजीकरण गर्नुभएको थियो।









