गुल्मी । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री रत्न खत्रीले बहुबर्षीय आयोजना सञ्चालन गर्दै अनुगमनलाई प्राथमिकता दिने बताउनुभयो । रुकुम पुर्वबाट फर्किने क्रममा गुल्मी जिल्लाका क्रियाशिल पत्रकासंग भेटघाट गर्दे मन्त्री खत्रीले समान विकास पहुँच हरेक निर्वाचन क्षेत्रका नागरिकको अधिकार भएकाले सुगमको रुपन्देहीदेखि दुर्गमको रुकुमसम्म ठूला योजनाहरु मार्फत काम गर्ने खत्रीले बताउनुभयो ।
उहाँले मन्त्रालयबाट ३० लाखभन्दा तलका योजना समावेश नगर्न आफुहरुको जोडबल रहेपनि सांसदहरुको बाध्यताले साना र टुक्रे योजना पनि आउँदा आलोचना खेप्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,“प्रदेश सडक गुरुयोजनाका ५९७ आयोजनामा जोड दिने पक्षमा मन्त्रालय थियो । प्रदेश माननीयका योजना टुक्रे आए गुल्मीमा मात्रै सयभन्दा बढि १० लाखका योजना छन् ।” खत्रीले मन्त्रालयले बजेट पठाएर मात्रै बसेकाले योजना अनुगमनको बिषय कम्जोर भएको स्वीकार गर्दै अहिले टोलीनै बनाएर काम गर्ने बताउनुभयो । उहाँले जनशक्ति व्यावस्थापन अर्को समस्या भएको बताउनुभयो ।
दुई संघीय निर्वाचन क्षेत्रका साढे दुई सय प्रदेशका सडक योजनाको काम गर्न पाँच÷सात जना जनशक्तिले मात्रै संभव नभएकाले लोकसेवा मार्फत जनशक्ति व्यवस्थापन गरेर कामको गुणस्तरियतामा ध्यान दिँदै आलोचना कम गर्न प्रयत्न गर्ने खत्रीले बताउनुभयो । भौतिक पुर्वाधार मन्त्री खत्रीले जिल्लाहरुमा निर्माण व्यवसायीहरुले काम नगरेर अलपत्र परेका योजनाहरुको बिषयमा लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण भएकाले केही समयमै निर्माण व्यवसायीहरुसँग बसेर समस्या समाधान गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारको तर्फबाट पनि शिक्षा, स्वास्थ्य, सडक पुर्वाधार, खानेपानी र सिंचाईँ लगायतका क्षेत्रमा थुप्रै काम भएकाले प्रदेशकै अपनत्व र महसुस हुने गरेर बाहिर ल्याइदिन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।









