गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको रामराज्य माध्यमिक विद्यालयको हीरक उत्सव अहिले केवल एउटा औपचारिक कार्यक्रम बनेको छैन । यो त पुस्तौँको सम्झना, सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई पुनर्जीवित गर्ने अभियान बनेको छ। विद्यालय परिसर अहिले भेटघाट, स्मृति र योगदानका अनेक दृश्यहरू देख्न सकिन्छ। देश तथा विदेशका विभिन्न कुनामा पुगेका पूर्वविद्यार्थी, शुभेच्छुक र गाउँसँग भावनात्मक सम्बन्ध राख्ने व्यक्तिहरू विद्यालयप्रति आफ्नो माया र जिम्मेवारी प्रकट गरिरहेका छन्।
यसैबिच विद्यालयको २०५६ सालको एसएलसी ब्याचले प्रस्तुत गरेको योगदान अहिले सबैका लागि प्रेरणाको विषय बनेको छ। समयले धेरैलाई फरकफरक पेसा, व्यवसाय र जीवन संघर्षतर्फ पुर्यायो। कोही शिक्षक बने, कोही कर्मचारी, कोही व्यवसायी त कोही रोजगारीका लागि विदेश पुगे। तर, वर्षौँपछि पनि उनीहरूलाई फेरि एउटै भावनाले जोड्यो— त्यो हो आफ्नो स्कुलप्रतिको माया।
कुनै समय एउटै बेञ्चमा बसेर पढेका साथीहरू अहिले फेरि विद्यालयको नाममा एक ठाउँ उभिएका छन्। सामाजिक सञ्जाल, फोन र व्यक्तिगत समन्वय मार्फत जोडिँदै उनीहरूले हीरक उत्सवको अवसरमा विद्यालयमा दुई लाख ५६ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्। यो कोष गरिब तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको बताइएको छ। सहयोग रकम केवल आर्थिक योगदान मात्र होइन, यो विद्यालयबाट सिकेको संस्कार, जिम्मेवारी र समाजप्रतिको उत्तरदायित्वको प्रतिविम्ब रहेको अभियान्ता नारायण खनालले बताउनुभयो ।
पूर्वविद्यार्थी खनालले “हामी जहाँ पुगे पनि हाम्रो पहिलो पहिचान रामराज्य मावि हो। यही आँगनले अक्षर चिनायो, सपना देख्न सिकायो। आज त्यो ऋणको सानो अंश तिर्न खोजेका हौँ।” हीरक उत्सवले अहिले विद्यालयलाई केवल उत्सवमय बनाएको छैन, यसले पुराना सम्बन्धहरूलाई पुनः जीवन्त बनाएको छ। स्थानीय कार्यक्रममा २०५६ सालको ब्याचको यो अभियानलाई उदाहरणीय र अनुकरणीय कार्यका रूपमा सवैले प्रशंसा गरे । उनीहरूका अनुसार यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरणलाई थप बलियो बनाउनुका साथै आगामी पुस्तामा पनि सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतले बताउनुभयो । हीरक उत्सवको अवसरमा भइरहेको यस्ता सकारात्मक कार्यहरूले विद्यालय केवल पढ्ने ठाउँ नभएर यो जीवनभर जोडिरहने भावनात्मक सम्बन्धको केन्द्र भएकाले रामराज्य माविको हीरक उत्सवले अहिले एउटा उत्सवभन्दा माथि उठेर शिक्षा, सम्झना, एकता र सामाजिक सहयोगको सुन्दर उदाहरण प्रस्तुत गरिरहेको बस्नेतले बताउनुभयो ।









