गुल्मीको इस्मामा जिल्लाभरकाे विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु



अनिल खत्री


गुल्मी । गुल्मीमा खेलकुद क्षेत्रको विकास गर्दै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने उद्देश्यसहित विभिन्न क्लबहरू सक्रिय रूपमा लागिरहेका छन् । शहरदेखि गाउँसम्म खेलकुदप्रतिको आकर्षण बढ्दै जाँदा यहाँका खेलाडीहरू जिल्ला हुँदै राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल हुन थालेका छन् ।

यसै सन्दर्भमा गुल्मी जिल्लामा छैटौँ फोर्टिन स्टार कप विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु भएको छ । इस्मा गाउँपालिका–१ स्थित वीपी पार्क खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गरेका हुन् । खेलको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले खेलकुदले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्ता प्रतियोगिताले लुकेका प्रतिभालाई अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले पछिल्लो समय गुल्मीबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भइरहेको बताए ।

प्रतियोगितामा गुल्मी जिल्लाभरका १४ वटा विद्यालयको सहभागिता रहेको फोर्टिन स्टार क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धात्मक र अनुशासित खेल प्रस्तुत गर्ने अपेक्षा आयोजकको रहेको छ । प्रतियोगिता पुस १२ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

( Jeevan rajan

क्लबले २०७४ सालदेखि निरन्तर रूपमा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको फोर्टिन स्टार क्लबका सचिव अर्जुन मरासिनीले बताए । विद्यालयस्तरमै लुकेका खेल प्रतिभा पहिचान गरी उनीहरूलाई थप अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।

यस्ता प्रतियोगिताबाट जिल्लाको खेलकुद स्तर उकासिनुका साथै भविष्यमा सक्षम राष्ट्रिय खेलाडी उत्पादन हुने क्लबको विश्वास रहेको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, खेलप्रेमी तथा स्वयंसेवकहरूको महत्वपूर्ण सहयोग रहने आयोजकले जनाएको छ ।

खेलकुदमार्फत जिल्लाको पहिचान स्थापित गर्ने लक्ष्यसहित आयोजना गरिएको यस प्रतियोगिताले गुल्मीको खेलकुद विकासमा थप ऊर्जा थप्ने विश्वास क्लबका अध्यक्ष आचार्यले व्यक्त गरे । उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारी, इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर लगायत इस्मा र रेसुङ्गा नगरपालिकाका वडाअध्यक्षहरू, जनप्रतिनिधि तथा विभिन्न कार्यालय र संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया