गुल्मीमा अस्पताल आसपास सूर्तीजन्य पदार्थ रोक्न अनुगमन तीव्र



अनिल खत्री


गुल्मी । गुल्मी जिल्ला अस्पताल आसपास सूर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुगमनलाई तीव्र बनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको नेतृत्वमा अस्पताल क्षेत्र आसपास अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा गुल्मी जिल्ला अस्पतालबाट १०० मिटर दूरीभित्र रहेका ६ वटा व्यवसाय तथा ४ वटा सार्वजनिक निकायमा निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त स्थानहरूमा सूर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन नगर्न सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल सेनसँगै जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीको सहभागिता रहेको थियो । टोलीले अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, सार्वजनिक कार्यालय तथा सार्वजनिक स्थानजस्ता संवेदनशील क्षेत्रमा सूर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरण कानूनले निषेध गरेको जानकारी गराउँदै त्यसको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ तथा नियमावली २०६८ अनुसार सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाको निश्चित दूरीभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने व्यवस्था रहेको छ । उक्त ऐनअनुसार सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षकको जिम्मेवारी समेत दिइएको छ ।

( Jeevan rajan

जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय सूर्तीजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्य क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै नियन्त्रणका गतिविधि प्रभावकारी बनाइएको जनाएको छ । विशेषगरी अस्पताल, विद्यालय तथा सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनले बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूमा नकारात्मक असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न कडाइ गरिएको गैरेले बताए ।

मे ३१ मा मनाइने “विश्व सूर्तीजन्य पदार्थ रहित दिवस २०२६” लाई लक्षित गर्दै “अपिल अनमास्किङ निकोटिन र सूर्तीजन्य पदार्थको लतविरुद्ध प्रतिरोध” भन्ने नारासहित नेपालभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । सोही अभियानअन्तर्गत गुल्मीमा पनि अनुगमन तथा जनचेतनामूलक गतिविधिलाई तीव्र बनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधित क्षेत्रमा सूर्तीजन्य पदार्थ सेवन वा बिक्री वितरण गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।सार्वजनिक स्थानलाई धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया