गुल्मी । कुनै बेला बिशेषज्ञ डक्टर अभावको मुख्य चुनौती रहेको गुल्मी अस्पतालमको मुख्या समस्या भवन अभाव रहेको छ । अहिले धेरै बिशेषज्ञ डक्टरहरु भएपनि संरचना अभाव मुख्य चुनौतीका रुपमा रहेको छ ।
यसवर्ष गुल्मी अस्पतालले स्वास्थ्य सेवाका न्यूनतम सेवा पूरा गर्दै लुम्बिनी प्रदेशमै अब्बल अस्पतालको रूपमा आफ्नो स्थान बनाएको छ । भौतिक संरचनाको अभावका बीच पनि सेवा प्रवाहमा निरन्तर सुधार ल्याउँदै अस्पतालले आर्थिक वर्ष ०८२÷०८३ को मूल्याङ्कनमा ९१ प्रतिशत अंक प्राप्त गरी उत्कृष्टता हासिल गरेको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मूल्याङ्कन टोलीमा प्रमुख अर्घाखाँची असपतालका प्रमुख डा. जगन्नाथ तिवारी, प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अच्युत शर्मा न्यौपाने, डा. शिशिर गिरी तथा सन्देश पौडेलले २ दिनसम्म मूल्याङ्कन गरेका थिए । मूल्याङ्कनका क्रममा अस्पतालको विगत र वर्तमान अवस्थाको तुलनात्मक अध्ययन गरिएको थियो ।
टोली प्रमुख डा. जगन्नाथ तिवारीले विगतको तुलनामा गुल्मी अस्पतालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । उनले धेरै क्षेत्रमा प्रगति देखिए पनि भौतिक संरचनाको अभावका कारण साँघुरा कोठाबाट सेवा विस्तार गर्नुपरेको अवस्थाप्रति प्रशंसा व्यक्त गरे ।
भौतिक संरचना अभाव नै अस्पतालको थप प्रगतिमा प्रमुख अवरोध बनेको तथ्य मूल्याङ्कनबाट स्पष्ट भएको उनले बताए । अघिल्लो आर्थिक वर्षको मूल्याङ्कनमा पनि गुल्मी अस्पतालले ९१ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशमा तेस्रो स्थान हासिल गरेको थियो ।
यस वर्ष पनि सोही अंक प्राप्त गर्नुले अस्पतालले सेवाप्रवाहलाई अझ स्तरीय बनाउने दिशामा निरन्तर प्रयास गरिरहेको संकेत मूल्याङ्कन नतिजाले दिएको छ । मूल्याङ्कन नतिजा सार्वजनिक कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. विभव बस्यालले हालसम्म भएका प्रगति, सामना गरिरहेका चुनौती र भावी योजनाबारे विस्तृत प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले पछिल्लो समय गुल्मी अस्पतालले हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गरे । उनले निर्माणाधीन अस्पताल भवन छिटो सम्पन्न हुनु सबैको चासोको विषय रहेको बताए ।
उनले नयाँ भवन सम्पन्न भएपछि अस्पतालले अझ बढी अंक ल्याउँदै सेवा प्रवाहको गुणस्तर निरन्तर कायम राख्नुपर्नेमा जोड दिए । मेडिकल सुपरिटेन्डेण्टसमेत रहेका अस्पताल प्रमुख डा. बस्यालले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफूहरूले प्रदान गरिरहेका सेवामा कहाँ कमजोरी छन् र तिनलाई कसरी सुधार गर्न सकिन्छ भन्ने स्पष्ट मार्गदर्शन मिलेको बताए ।
सबैको सहयोगकै कारण आजको अवस्थामा पुग्न सफल भएको भन्दै उनले धन्यवाद व्यक्त गरे । तर भौतिक संरचनाको अभावले उत्कृष्ट सेवाप्रवाहमा समस्या भइरहेको यथार्थसमेत उनले औँल्याए । गुल्मी अस्पताललाई थप उचाइमा पु¥याउन मुख्य चुनौती नै भौतिक संरचना रहेको उनको भनाइ छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले निर्माणाधीन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाह अझ सहज हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा सरोकारवालाहरूले अस्पतालको विकास र सेवा विस्तारसम्बन्धी आ–आफ्ना सुझावसमेत प्रस्तुत गरेका थिए । हाल गुल्मी अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग विशेषज्ञ सेवा, हेमोडायलाइसिस सेवा लगायत विभिन्न विशेषज्ञ सेवाहरू विस्तार भइसकेका छन् ।
गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार प्रत्येक वर्ष हुने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा अस्पतालको समग्र अवस्था निर्धारण हुने बताए । भौतिक संरचनाको अभावका बाबजुद पनि गुल्मी अस्पताल निरन्तर अब्बल सावित हुँदै आएको छ ।
हाल अस्पतालको अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पुरानो भवनका साँघुरा कोठाबाट समेत विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ०७१ सालमै ५० शैयामा स्तरवृद्धि गरे पनि भौतिक संरचनाको कमीका कारण पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन् ।
निर्माणाधीन पाँचतले नयाँ भवनमा आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचार कक्ष छुट्टाछुट्टै व्यवस्थासहित सञ्चालन हुने योजना रहेको छ । हाल बाल रोग, प्रसूति तथा हाडजोर्नी विशेषज्ञ सेवाको विस्तारपछि सयौँ बिरामीहरूले जिल्लामै सहज रूपमा सेवा लिन पाएका छन् ।
पहाडी जिल्लामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक आउन नमान्ने समस्या रहेकाले रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएर विशेषज्ञ सेवा सञ्चालन गर्दै आएको छ । यसले गुल्मी अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको सरोकारवालाहरूको भनाइ छ । भौतिक संरचनाको समस्या समाधान भएसँगै गुल्मी अस्पतालले अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।









