जोगिथुम भगवती मन्दिरको छैटौं वार्षिक साधारण सभा सम्पन्न



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–४ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जोगिथुम भगवती मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिको छैठौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।

साधारण सभाको अवसरमा मन्दिरको विकास, संरक्षण तथा व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले जोगिथुम भगवती मन्दिर स्थानीय जनआस्थाको केन्द्रका रूपमा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे । सभामा विश्व हिन्दु महासंघका सुरेशचन्द्र भुसालले धार्मिक स्थलहरू केवल पूजा–आराधनाका स्थान मात्र नभई समाजलाई एकताबद्ध गर्ने सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यस्ता मन्दिरहरूको संरक्षण सबैको साझा दायित्व भएको बताए ।

त्यसैगरी रेसुङ्गा नगरपालिका–४ का वडाध्यक्ष लिलाधर आचार्यले वडास्तरबाट मन्दिरको पूर्वाधार विकास र व्यवस्थापनमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले धार्मिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय विकास सम्भव हुने भन्दै जोगिथुम भगवती मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।

जोगिथुम भगवती मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर दर्लामीले समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म सम्पन्न गतिविधि, आर्थिक विवरण तथा आगामी योजना सार्वजनिक गरे । उनले मन्दिरको संरचना सुधार, सरसफाइ, भक्तजनका लागि सुविधाको विस्तार तथा धार्मिक कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य रहेको बताए । साधारण सभामा कोषाध्यक्ष टोपेन्द्र झाक्री मगरले आर्थिक गतिविधिसहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

( Jeevan rajan

जोगिथुम भगवती मन्दिरमा प्रत्येक आइतबार तथा वडा दशैं, चैते दशैं र नवरात्रमा विशेष पूजा हुने गर्दछ भने दशैंको पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । निकै पुरानो तथा आस्थाको केन्द्रका रूपमा रहेको यस मन्दिरमा पछिल्लो समय संरचना निर्माण भएसँगै थप चिटिक्क बन्दै गएको छ ।

कार्यक्रममा जोगिथुम भगवती मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष झबी पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने सचिव गोविन्दप्रसाद आचार्यले कार्यक्रमको सहजीकरण गरेका थिए । साधारण सभामा समितिका सदस्यहरू, स्थानीय अगुवा, भक्तजन तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा समितिले सम्पूर्ण सहभागी तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया