गुल्मी । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको शहरी विकास, ऊर्जा, खानेपानी तथा सिँचाई मन्त्रालयको मन्त्रीको रुपमा डिल्लीराज भुसालले पदभार ग्रहण गर्नुभएको छ । सोमबार मन्त्रालयको जिम्मेवारी लिएसंगै प्रदेशको विकास, पूर्वाधार निर्माण र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन चार महत्वपूर्ण नीतिगत निर्णयहरु समेत भएका छन् । गत साउन १३ गते मन्त्रीपरिषद्बाट स्वीकृत भएर अगाडी बढेका यी निर्णयहरुले मन्त्रालय र मातहतका निकायबाट सम्पादित हुने कार्यहररुको नियमितता र नीतिगत निर्णय प्रक्रियालाई तीव्रता दिनेछ ।
निर्णयहरुमा मन्त्रालयले लुम्बिनी प्रदेशभित्र उपलब्ध ऊर्जाका सम्भावनाहरूको गहिरो अध्ययन गरी दिगो विकास र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न एक विस्तृत प्रदेश ऊर्जा विकास गुरुयोजना निर्माण उल्लेख छ। यसले प्रदेशमा ऊर्जाका वैकल्पिक तथा नवीकरणीय स्रोतहरूको पहिचान र अधिकतम सदुपयोग गर्न मार्गनिर्देशन गर्नेछ। त्यस्तै हाल ८० प्रतिशत वा सोभन्दा बढी भौतिक प्रगति हासिल गरेका खानेपानी तथा सरसफाइ योजनाहरूलाई द्रुत गतिमा सम्पन्न गर्ने निर्णय गरिएको छ। सम्पन्न भएका त्यस्ता योजनाहरू सम्बन्धित सरोकारवाला तथा उपभोक्ता समितिलाई विधिवत् रूपमा हस्तान्तरण गरी छिटोभन्दा छिटो सेवा सञ्चालनमा ल्याइने व्यवस्था मिलाउने र लुम्बिनी प्रदेशभित्र रहेका अमूल्य जलसम्पदाहरूको संरक्षण, नियमन र न्यायोचित सदुपयोगका लागि आवश्यक कानुनी आधार तयार पार्न प्रदेश जलस्रोत ऐन तर्जुमाको प्रक्रिया अगाडि बढाइने निर्णय भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशका विभिन्न सहरहरूलाई थप सफा, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यका साथ हाम्रो रहर, स्वच्छ सहर कार्यक्रम सञ्चालन गरिने भएको छ। यस कार्यक्रमले सहरी सरसफाइ, वृक्षारोपण र वातावरणीय सुधारका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। मन्त्री भुसालले गत जेठ २५ गते शहरी विकास, ऊर्जा, खानेपानी तथा सिँचाई मन्त्रीको सपथ लिनुभएको थियो ।









