गुल्मी । नेपालमा साउन १५ अर्थात आजको दिनलाई कोदाे दिवस भनेर घोषणा गरिएको छ । दिवसको अवसरमा कुनैपनि कार्यक्रमहरु नभएपनि यतिबेला कृषकहरु कोदो रोप्न ब्यस्त छन् ।
असारदेखि साउनको अत्यसम्म कृषकहरु मकै बाली भित्र कोदो रोप्ने गरिन्छ । गुल्मी जिल्लामा कोदो उत्पादनमा कमी आएको छ ।
जिल्लामा अघिल्लो आर्थिक वर्ष भन्दा गएको आर्थिक वर्षमा ११.५० प्रतिशतले उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा प्रत्येक वर्ष कोदोको क्षेत्रफल घटिरहेको छ । तर, उत्पादनमा भने ठूलो गिराबट देखिदैन । बिगत ५ बर्षको तथ्याङ्क बिश्लेषण गर्दा क्षेत्रफल घटेता पनि उत्पादन भने स्थिर देखिएको छ । जिल्लामा गत आर्थिक वर्ष २ हजार ८८१ हेक्टर क्षेत्रफलमा ३ हजार ३४१.९६ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
अघिल्लो आर्थिक वर्ष ०७९/८० मा २ हजार ९०५ क्षेत्रफलमा ३ हजार ७७६.५ मेट्रिक टन उत्पादन भएको थियो । पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा अलि झन्झटिलो भएकोले यस प्रती मानिसको आकर्षण घट्दै गएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए ।
बिउ छर्ने बेला पानी नपरी खडेरी पर्नु बीउ कम उम्रनु साथै कोदो रोग समेत (छिर्केमिर्के) देखिनुले कोदो उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जङगली जनावर, जङली बाख्रा खरायो, मुसा लगायत जनावरले किसानलाई निकै समस्या दिने गरेको कृषकहरुले बताउने गरेका छन् । जिल्लामा ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो यहाँका कृषकहरुले लगाउने जातहरु रहेका छन् ।
जिल्लामा इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट मुख्य पकेटक्षेत्रहरु रहेका छन् । कोदो खेती असार र साउन महिनामा मकै भित्र रोप्ने गरिन्छ । यो खेती कात्तिक महिनाको अन्तिमबाट मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ ।